(१) संवैधानिक पदाधिकारीलाई जुन कारणको आधारमा पदमुक्त गर्न निज उपर महाभियोगको प्रस्ताव पेश गरिएको हो जाँचबुझ समितिले सोही कारण र आधार खुलाई आरोपपत्र तयार गरी आरोपित संवैधानिक पदाधिकारीलाई आफनोे स्पष्टीकरण सहितको सफाई पेश गर्ने मनासिब म्याद दिई निजलाई आरोपपत्र दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको आरोपपत्रमा अन्य कुराका अतिरिक्त देहायका कुराहरू स्पष्ट रूपमा उल्लेख हुनु पर्नेछ ः–
(क) कुन आरोपमा निजलाई पदमुक्त गर्न महाभियोगको प्रस्ताव पेश गरिएको हो सोको संक्षिप्त विवरण,
(ख) कुन आरोप कुन कुन कुरामा आधारित छ र सोको उपलब्ध भएसम्मको प्रमाण,
(ग) एकैपटक एकभन्दा बढी आरोप लगाई महाभियोग सम्बन्धी प्रस्ताव पेश गरिएको भए प्रत्येक आरोपका सम्बन्धमा खण्ड (क) र (ख) मा लेखिएका विवरण र प्रमाण,
(घ) अन्य आवश्यक कुराहरू ।
(३) उपदफा (१) बमोजिम म्यादभित्र संवैधानिक पदाधिकारीले स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण जाँचबुझ समितिलाई मनासिब नलागेमा जाँचबुझ समितिले सोही बमोजिम मूल्यांकन गरी महाभियोगको प्रस्ताव उपयुक्त भए वा नभएको निर्णय गर्नेछ ।